Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बोल्ने समय निकै नजिक आइसकेको छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेसम्म आफू मौन रहेको बताउँदै अब बोल्ने समय निकै नजिक आएको बताएका छन् । लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु’, लामिछानेले भने । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिने आदेश गरेपछि लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी लिन आदेश दिएको थियो । उनले अदालतले मागेको धरौटी सोही दिन बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा जिल्लाको उक्त आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका उनको सचिवालयले जनाएको छ ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।