Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावादीको सक्रियताविरुद्ध प्रतिवादमा उत्रिनु पर्ने माओवादी बैठकको निष्कर्ष

प्रमुख प्रतिपक्षी नेकपा माओवादीको केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ । आज सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडि सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताएका छन् । माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् ।


माओवादी केन्द्रले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियता परिवर्तन उल्टाउन खोजेको भन्दै सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ । सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको एक पदाधिकारीले बताए ।

‘ज्ञानेन्द्रको पक्षमा भएको प्रदर्शन राम्रो होइन, हाम्रो कारणले गणतन्त्र आएको हुनाले यसको रक्षा र विकास पनि हामीले नै गर्नुपर्ने भन्नेमा हामी पुगेका छौँ’ बैठकको निचोड सुनाउँदै एक नेताले भने, ‘कांग्रेस–एमाले सरकारले गर्न नसकेका कामले जनतामा झन् बढी असन्तुष्टि चुलायो । त्यो राजावादी र हिन्दूवादीतिर गयो । यसलाई न्यूनिकरण गर्नुपर्छ ।’

त्यसका लागि माओवादीका शीर्षसहितका नेताले सोमबार नै समाजवादी मोर्चामा रहेका दलसँग छलफल गर्दैछन् । त्यस्तै, आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको छ ।