Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जागरण अभियान स्थगितबारे के भन्छन् प्रचण्ड?

‘अराजक तत्वविरुद्ध संघर्ष गरिन्छ’

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन् ।

नेपाली जन प्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा व्यक्त गरेका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबिच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानमा क्रियाशील छौं । अभियानमा सम्पूर्ण पार्टीपंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं। यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन् ।’

अध्यक्ष ‘प्रचण्ड’ ले पार्टीको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान स्थगित गर्नुको तीन कारण बताएका छन् । अध्यक्ष प्रचण्डले जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको दाबी पनि गर्दै स्थगित गरिएकामा प्रष्टीकरण पनि दिए । प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको र त्यसविरुद्ध माओवादीले संघर्ष गर्नुपरेको, संसदमा पनि केन्द्रित हुनुपरेको र यहीबेला स्ववियु निर्वाचन पनि परेकोले अभियान स्थगित गर्नुपरेको उनले बताए ।

उनले सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताएका छन् । ‘हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रष्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन।मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन्’, उनले भने ।

हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उनको भनाइ थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा निर्माण रोकिएको हुलाकी राजमार्ग भारतसँग कुराकानी गरी हुलाकी राजमार्गको उद्घाटन आफैंले गरेको थिएँ । त्यसैले अहिले पनि त्यहाँका जनतामा माओवादीप्रतिको विश्वास बलियो बनेको छ । माओवादीले जे भन्छ, त्यो गर्छ भन्ने अनुभूति उनीहरूमा छ ।’

पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्दै उनले तीमध्ये जनताबिच राम्रो प्रभाव भएका नेताहरू पनि रहेका कारण पार्टीपंक्तिमा उत्साह थपिएको बताए । उनले भने, ‘यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावनालाई पुष्टि गरेको छ । नेताहरूको साथमा अभियानमा सहभागी हुँदा जनतामा झनै उत्साह देखिएको छ । विगतमा पार्टीबाट अलग भएका धेरै नेताहरू पनि व्यक्तिगत रूपमा पार्टीमा पुनः प्रवेश गरेका छन् ।’

अध्यक्ष दाहालले माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उल्लेख गरे । अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको भन्दै माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उनले सुनाए।

अध्यक्ष दाहालले भने, ‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो । अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं ।’ काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिए । साथै, भोलि बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्वपूर्ण विषयमा छलफल गरिने उनले बताए ।

नेपाली जन प्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष दाहालले गैर आवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गरे ।