Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रसुवाका पार्टी अध्यक्ष जनार्दन शर्माले छाडे एमाले, भन्छन् - अपमान सहन सकिन्

संविधानसभा सदस्य एवं नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन शर्माले पार्टीका सबै पद त्यागको घोषणा गरेका छन्।  हिमालय टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा अध्यक्ष ढकालले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। 

रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ। आफूमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ। आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गरे। 

तत्कालिन नेकपा विभाजन र एमालेबाट माधवकुमार नेपालसहितका नेताले दल विभाजन गर्दा रसुवामा विभाजनको असर हुन नदिन भुमिका खेलेका  ढकाल यतीबेला दश बुँदे पक्षधर र एमालेमा आएका प्रेम तामाङको पेलान सहन नसकेर दल त्याग गर्नुपरेको दाबी गरेका छन्।

तत्कालिन अवस्थामा नेकपा एकीकृतमा जान लागेका माधव अर्याल, राप्रपाहुँदै माओवादी, जसपा, नयाँ शक्ति र कांग्रेस हुँदै एमालेमा प्रवेश गरेका प्रेम तामाङलाई नेतृत्वले च्याप्न खोजेको ढकालको आरोप छ।  पार्टी महासचिव शंकर पोखरेल र प्रदेश इञ्चार्ज राजन भट्टराईलाइ पटक पटक यो विषय अवगत गराए पनि निकास नआएको उनको भनाइ छ।

रसुवामा भविष्यसम्मको नेताको उपमा पाएका ढकालले एकाएक दल त्यागको घोषणा गरेसँगै पार्टी नेता र कार्यकर्ता दबाबमा परेका छन्।  ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित भएका थिए।  तत्कालिन नेकपाको केन्द्रीय सदस्य समेत रहेका ढकाल पछिल्लो पटक रसुवा अध्यक्ष थिए।