Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कुलमान घिसिङलाई हटाउन खोजिएकोमा गगन थापाको असन्तुष्टि

‘राम्रो काम गर्न नसके, नराम्रो पनि नगर्नु’

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाका विषयमा भइरहेको विवादप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज शनिबार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को सम्मेलनमा बोल्दै थापाले एउटा व्यक्तिका विषयमा सरकार नै वादविवादमा उत्रिन नहुने भन्दै असन्तुष्टि जनाएका हुन् ।

मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेको थियो भने हालै मन्त्रिपरिषदले पनि स्पष्टीकरण सोधेको छ । त्यस्तै काठमाडौं महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको विषयमा सरकार र महानगरबीच विवाद देखिएको छ । यी सबै विषय बदनियत हो कि ढङ्ग नपुगेको हो भन्ने विषय आफूले नबुझेको महामन्त्री थापाले बताए ।


‘सरकारमा बस्नेले कि राम्रो गर्नुस् नभए नराम्रो नगर्नुस् । ५० वटा राम्रो काम भएको बेला एउटा नराम्रो काम भयो भने हामीलाई दुःख लाग्छ । नराम्रो कामले राम्रो काम पनि छोपिन्छ । उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ अर्को प्रमुख प्रशासकीय अधिकृत प्रकरण छ । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको बेढङ्ग हो’, उनले भने।

कुलमान घिसिङको कार्यकाल सकिन धेरै समय नभए पनि सरकारले हटाउन खोजेकोमा महामन्त्री थापाले असन्तुष्टि पोखे । ‘तीन–चार महिनामा सेवा निवृत्त हुने, सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने, सरकार नै एउटा व्यक्तिको पछि लागेको देखिन्छ, किचकिच गरिरहेको देखिन्छ’, महामन्त्री थापाले भने, ‘यस्तो कुरा ठिक होइन, उपयुक्त हुँदैनन् । यस्ता नचाहिँदा काममा कोहि मन्त्री पनि लाग्न हुन्न, मन्त्रीहरु नचाहिँदा काममा लागे रोक्ने काम प्रधानमन्त्रीको हो ।’