Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लोडसेडिङ अन्त्य कुलमानले होइन भारतले गरेको हो: ऊर्जामन्त्री दीपक खड्का (भिडियो)

कुलमानले जे भने त्यो मानिदिनुपर्ने हो ?

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने बताएका छन् । बुधबार सभामुखले जवाफ दिन रुलिङ गरेपछि बिहीबारको संसद्‌ बैठकमा मन्त्री खड्काले घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने बताएका हुन् ।    

मन्त्री खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । बैठकलामा बोल्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए ।

उनले भने, ‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ ।’

उनले केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै लोडसिडङको अन्त्य एकजना व्यक्तिले मात्रै नगरेको बताए । उनले भने, ‘आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन् । नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३०० रुपैयाँमा सेयर बेच्दा के भन्लान जनताले । कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने ?’

डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ । उनले भने, ‘लाल आयोगले २२ अर्बको साटो ६ अर्ब भनेको छ । २२ अर्ब नाफा हो भनेर देखाइएको छ । २२ अर्ब उठाउन अरबिन्द कुमार मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिलाई कुनै प्रमाण दिइएको छैन ।’

यस्तै, यसअघि ऊर्जा मन्त्रालय सम्हालेका मन्त्रीहरूको पनि आफूले सहयोग नपाएको खड्काको गुनासो थियो । उनले भने, ‘प्रतिपक्ष दलका नेताहरूले यो मन्त्रालय सम्हालेका कारण उहाँहरूसँग सल्लाह गरेको हो । तर, उहाँहरूले सहयोगको साटो प्रश्न गर्नुभयो ।’