Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

च्याम्पियन्स ट्रफीको सेमिफाइनल: भारत र अस्ट्रेलियाबीच खेल हुँदै

भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा मंगलबार अपराह्न हुँदैछ। नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ। दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ। लाहोर र कराँचीको बाउन्स पिचमा कुनै पनि खेल खेल्न नपरेपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियाको सामु भारतलाई लाभ मिलेको छ।

न्युजिल्यान्डसँगको समूह चरणको अन्तिम खेल पनि स्पिनर वरुण चक्रवर्तीले नै जिताएका थिए। सोही टोली अस्ट्रेलियासँगको सेमिफाइनलमा खेल्ने छ।अस्ट्रेलिया भने प्रारम्भिक ब्याट्सम्यान म्याट सर्टलाई चोटका कारण गुमाउने भएको छ। अहिलेसम्म तीन मात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका २१ वर्षीय कुपर कोनोलीलाई अस्ट्रेलियाले बोलाएको छ।

अस्ट्रेलियाले जोस इङ्लिसलाई पारीको सुरुवात गराउँदै सिमर एरोन हार्डीलाई टोलीमा समावेश गर्न सक्ने छ। अर्को विकल्पमा आक्रामक ब्याट्सम्यान ज्याक फ्रेजर म्याक गुरुकलाई सुरुमा खेलाउन सक्नेछ। कोनोलीलाई समावेश गरे एक बायाँ हाते स्पिनरको विकल्प पनि रहने छ।

स्पिन आक्रमण बलियो भए पनि भारतको डेथ बलिङको परीक्षण भएको छैन। सबै भन्दा भरपर्दा बलर जसप्रित बुमराहको अभाव भारतले अहिलेसम्म महसुस गर्नु परेको छैन। न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।