Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिलाले मागिन् माफी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपाली फुटबल समर्थकहरूसँग माफी मागेकी छन् । 

बिहीबार एन्जिलाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग पराजित भएकोमा माफी मागेकी हुन् ।

उनले लेखेकी छिन्, “हामी फाइनलमा पुग्यौँ तर चुक्यौँ । कप्तानको रूपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु ।” बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्यानमारसँग नेपाल २–० ले पराजित भएको थियो ।

करिब १६ हजार दर्शकबीच बुधबार पनि उपविजेता बनेपछि स्वर्ण जित्ने सपना पुनः पूरा नभएको उनले बताइन् । “मैदानमा उपस्थित १६ हजार दर्शक र सधैँ हामीलाई माया गर्ने करोडौँ समर्थकहरू हामीले तपाईंहरूले अपेक्षा गरेको नतिजा दिन सकेनौँ,” उनले लेखेकी छन् ।  

उनले अपेक्षाअनुसार प्रदर्शन नगरे पनि आलोचना नगर्न आग्रह गरिन् । “कृपया खेलाडीहरूलाई आलोचना नगर्नुस् । हामी सबैले आफ्नो मिहिनेत गरेका छौँ,” उनी लेख्छिन्, “नतिजा जस्तो भए पनि तपाईंहरूको सम्पूर्ण प्रशंसनीय छ । निरन्तर अगाडि बढ्नुहोस् ।”  

यस्तो छ उनको स्टाटस:

फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु।
मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू—हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।
म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।
पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं। यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं। हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ।
यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद!
कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं।
नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ! निरन्तर अगाडि बढ्नुहोस