Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्र बैंकले ल्यायो इभी खरिदमा असहज नीतिः अब ६० प्रतिशतसम्म मात्रै कर्जा

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न बैंकिङ सुविधामा असहज नीति ल्याएको छ । अब विद्युतीय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अन्तिम समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

हाल विद्युतीय सवारी खरिदको लागि व्यक्तिगत कर्जामा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइन्छ । त्यस्तै, सावजनिक सवारीमा भने बैंकहरुले आफ्नो स्वविवेक अनुसार नै कर्जा दिँदै आएकोमा अब भने यस्तो कर्जामा पनि ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने भएको हो ।

यता पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनमा भने थप सहज नीति आएको छ । यसअघि सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्‍याएको हो । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन र ईभीको ऋण मूल्य अनुपात बराबर भएको छ ।


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राष्ट्र बैंकले ल्याएको नीति सरकारले ईभीलाई प्रोत्साहन गर्ने लक्ष्य विपरीत रहेको प्रतिक्रिया दिएका छन् । उनले ८० प्रतिशतबाट एकैचोटी २० प्रतिशत घटाउँदा ईभी प्रयोग बढ्नुका सट्टा झन् घट्ने बताए । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको ऋण मूल्य अनुपात १० प्रतिशत बढाउनु सकारात्मक रहेको उनले बताएका छन् ।