Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालर म्यानमारको खेल बराबरीमा, उपाधिका निम्ति नेपाल र म्यानमारले नै प्रतिस्पर्धा गर्ने

काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।

खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले ट्याप इन गोल गर्दै खेल बराबरीमा ल्याइन् । १६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुन: अगाडि ल्याइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो ।

यो नतिजासँगै म्यानमार प्रतियोगिताको लिग विजेता बनेको छ । म्यानमारले लिग चरणमा तीन खेल खेल्दा सात अंक जोड्दै शीर्ष स्थान हासिल गरेको हो । समान अंक रहे पनि नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको फाइनल खेलमा उपाधिका निम्ति नेपाल र म्यानमारले नै प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

चार टिमको सहभागिता रहे पनि लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका छन् । तीन खेलबाट तीन अंक जोडेको लेबनान तेस्रो र अंकविहीन कीर्गिस्तान पुछारमा रहँदै लिग चरणबाट बाहिरिएका हुन् ।