Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्वराजाको आह्वानप्रति प्रचण्डको टिप्पणीः इतिहासले रछ्यानमा मिल्काएका तत्व दिवास्वप्न देख्दैछन्

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारप्रति दिन प्रतिदिन असन्तुष्टि र आक्रोश बढ्दै गएको टिप्पणी गरेका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै सरकारप्रतिको आक्रोश व्यवस्थाप्रति नै देखिन थालेको बताएका हुन् । पूर्वराजा शाहले आफ्नो त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहित जनतालाई साथ दिन आह्वान गरेका थिए ।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आआफ्नो हिसाबले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन् । इतिहासले एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा छन्, त्यस खालका प्रचारबाजी भइरहेका छन् ।’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् ।

माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । अध्यक्ष दाहालले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनु पर्ने बताए । स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको उल्लेख गर्दै उनले यो रणनैतिक सिफ्ट भएको बताए ।

दाहालले समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिए । एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले यसको मर्मलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरे ।

पार्टीले आठौं महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय विशेषता अनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए ।