Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउँछौंः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए । बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए ।


उनले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गरे । अध्यक्ष प्रचण्डले सहिदपार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

’हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौं । जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौं । हाम्रै पहलमा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी कानून टुंगो लगाएका छौं । आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं,’ उनले भने । भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंग्याउन ध्यानाकर्षण गराएका थिए ।