Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक दैनिक हाजिरी जमानीमा छुटे

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् ।जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको उक्त बेलुनमा अनुमति बिना हाइड्रोजन ग्याँस भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । कमलेश त्यहि दिन पक्राउ परेका थिए ।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरु दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले काम पनि थालिसकेको छ ।