Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

डोनाल्ड ट्रम्पलाई बालेन शाहको जवाफ - नेपाल अमेरिकाभन्दा राम्रो, अमेरिकनहरु अल्छी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाको कडा टिप्पणी गरेका छन् । आज राति सामाजिक सञ्जाल फेसबुकमा बालेनले अमेरिकालाई अल्छीहरूको देश भन्दै टिप्पणी गरेका छन् । 

अमेरिका बनाउनलाई अरु देशको जनशक्ति आवश्यक रहेको उनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै उनले ईडीभीप्रति आफ्नो धारणा राखेका हुन् । सोही क्रममा उनले त्यहाँका नागरिकलाई अल्छी भएको आरोप लगाएका हुन् ।

उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’

बालेनको स्टाटस अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ । उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन् ।

साथै, उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् । उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् ।

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।