Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बालेनको प्रशंसा गर्दै गगन थापाले भने - काठमाडौं महानगरपालिकाले बजेटको अभाव महसुस हुन दिएको छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन्। नित्यनाथ सत्तलको पुनःनिर्माणको बिहीबार शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको र मेयर बालेन शाहको प्रशंसा गरेका हुन् ।

‘जन सरोकारका काममा यसअघि सङ्घ र प्रदेश सरकारसँग बजेट माग्नु पर्थ्यो, अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन यो राम्रो काम हो,’ कामपा–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनःनिर्माण शिलान्यास गर्दै महामन्त्री थापाले भने।

सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण पक्षसँग सम्झौता भएको छ । तीन तले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ। दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ। तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिरस्थल रहनेछ।

परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ। यसरी गरिने पूजामध्ये बिहीबार गरिएको पूजालाई विशेष रुपमा मानिन्छ। विसं १९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो। त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो।