परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् ।
ओमनको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै यस्तो जानकारी दिएकी हुन् । यस विषयमा हिजो मात्र पनि आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।
भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए । मन्त्री देउवाले भनिन्, ‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौं । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय ग¥यौं । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यबहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।’
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी काबराहीको माग नेपालले गरेको छ । यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री डा. देउवाले दिएकी छन् । मन्त्री देउवाले नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर सबैको तथ्याङ्क परराष्ट्रसँग नरहेकाले आगामी दिनमा यस्तो तथ्याङ्क परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिएमा उनीहरुको उद्धारका लागि सजिलो हुने बताइन् ।