प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था बदल्न जनयुद्ध लडेको बताएका छन् । गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना शहीद भएका नहर्की परिवारसँग भेट गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले शहीदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताए । शहीदको सम्मान गर्नु राज्यको दायित्व भएको अध्यक्ष प्रचण्डले बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन जनयुद्ध हो ।’

पार्टीले शहीद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको बताए । उनले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताए ।

शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गरे ।
