प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताएका हुन् ।

‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगी जस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन ।’ कुलपति ओलीले भने, ‘तपाईहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईहरुमा होस् ।’

उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना राख्नु नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने दोहोर्याए । ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोशिस गर्नुस् । साहसी हुनुस्, दुस्साहसी नहुनुस् ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग उर्बर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’ समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गरेका छन्। उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरे ।