Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने केआईआईटीको घोषणा

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।

युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ । यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधा विना शिक्षा अघि बढाउन सहयोग पुग्ने युनभर्सिटीले जनाएको छ ।

‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

बुधबारै २० वर्षे प्रकृतिको शव नेपाल ल्याएर सद्गगद गरिएको थियो । युनिभर्सिटीका सञ्चालक प्रा। अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।

साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन ग¥यो । कलेजमा भएको तनावपछि कम्तिमा १११ जना नेपाली विद्यार्थीहरु सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । उनीहरुलाई फिर्ता ल्याउन भन्दै युनिभर्सिटीले अभिभावकलाई इमेल समेत लेखेको छ ।