Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रास्वपाले स्ववियु चुनावमा उम्मेदवारी नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवारी नदिने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ। अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् ।


संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाले जनाएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी दिए।बुर्लाकोटीले भने, ‘ शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनु पर्दछ। दलीय हिसाबले हुनु हुँदैन ।’

विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने मान्यता रास्वपाको रहेको बुर्लाकोटीले बताएका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेकालाई समेत पार्टीले पक्षधरता नदेखाउने बुर्लाकोटीले जानकारी गराए । आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटा क्याम्पसमा चुनाव हुन सकेको थिएन ।