भारतको ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको गृहनगर भैरहवामा अन्त्येष्टि गरिएको छ ।
बुधबार राति नै स्थानीय स्वर्गद्वारीघाटमा उनको अन्त्येष्टि गरिएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए। लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो । त्यसपछि मध्यराति नै अन्तिम संस्कार गरिएको हो । ओडियाबाट गोरखपुरसम्म हवाइजहाजमा र त्यहाँबाट घर एम्बुलेन्समा शव ल्याइएको थियो ।
प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर–८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धाञ्जली दिएर १२ बजेपछि बाहिर निकालिएको थियो ।
शवयात्रामा आफन्तसँगै उनलाई अन्तिम श्रद्धाञ्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो । २०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एक जनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।