Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जनयुद्धको नाममा माओवादी हिंसाले देश बीसौं वर्ष पछाडि धकेलियोः गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनयुद्धका नाममा माओवादीले थोपरेको युद्धका कारण देश बीसौं वर्ष पछाडि धकेलिएको टिप्पणी गरेका छन् । पाल्पाको पूर्वखोलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले जनयुद्धका नाममा माओवादीले थोपरेको हिंसाले देश बीसौं वर्ष पछाडि धकेलिएको बताए । महामन्त्री थापाले नेपालको राजनीतिमा माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरे । महामन्त्री थापाले भने, ‘५० देखि ६० को दशक हिंसामा बित्यो, त्यसपछिको १० वर्ष संविधान बनाउन र त्यसको व्यवस्थापमा थप १० वर्ष लाग्यो । अब अहिले ८० को दशकमा देश ठिक दिशामा जान लाग्दा फेरि एकथरी प्रवृति आएको छ, केही भएन देश बिग्रियो भत्कियो र बस्नै लायक भएन भन्ने । सबै ठिक छ भन्ने र केही भएन भन्ने दुवै प्रवृति गलत हुन् ।’


एमालेले हिंसा शब्द प्रयोग गर्दा माओवादीले आपत्ति जनाइरहेका बेला कांग्रेस महामन्त्रीले पनि माओवादी हिंसाका कारण देशको प्रगति २० वर्ष पछि परेको बताए । महामन्त्री थापाले कांग्रेसले मिसन ८४ भन्ने अधिकार नरहेको भन्दै यो ३ वर्षको अवधिमा आफ्ना बाचा पूरा गर्नुपर्ने बताए ।