Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मोसो दल्ने घटनाका संलग्न भएको आरोपमा जसपा नेपाल धरानका उपाध्यक्ष पक्राउ

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदमचेन्जि माबोलाई धरानमा मोसो दल्ने घटनामा संलग्न भएको आरोपमा जनता समाजवादी पार्टी नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङ पक्राउ परेका छन् ।

माबोले सोमबार इलाका प्रहरी कार्यालय धरानमा मोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मंगलबार पक्राउ गरिएको हो । माबोको मोसो दल्ने ८ जनाविरुद्ध उजुरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो । अदालतको अनुमतिपछि प्रहरीले चेम्जोङलाई पक्राउ गरिएको धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । माबोले मोसो दल्नेविरुद्ध आपराधिक उपद्रो ऐन अन्तर्गत किटानी जाहेरी दिएका छन् ।


पक्राउ परेका जसपा उपाध्यक्ष चेम्जोङले माबोलाई मोसो दलिरहेको अवस्थामा आफूले छुट्याएर अप्रिय घटना हुनबाट बचाएको बताएका छन् । उनले आफूलाई फसाउने उद्देश्यले उजुरी दिएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतलीलाइनमा कुटपिट गरी मोसो दलेका थिए ।

मोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।