Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एमाले महासचिव पोखरेल र रुसी कूटनैतिक अधिकारीबीच भेटवार्ता

विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीव्रता दिएका छन्। यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ। दूतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेण्डाबारे पनि छलफल भएको जनाइएको छ ।

भेटपछि दूतावासले विज्ञप्ति जारी गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाइ भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ हेरिएको छ ।

नेपाली युवालाई अवैध रूपमा रुस लगेर सेनामा भर्ती गरेको र युद्धमा होमेको विषयमा रुसले अहिलेसम्म मुख खोलेको छैन । यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रूपमा रुसले केही बताएको छैन । रुस युक्रेन युद्धमा २० बढी नेपाली युवाको ज्यान गइसकेको छ ।