Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालको विजयी सुरुवातः किर्गिस्तानविरुद्ध १–० को जित

फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । काठमाडौंको दशरथ रंगशालामा आज सोमबारको खेलमा नेपालले किर्गिस्तानलाई १–० को गोल अन्तरले हराउँदै महत्वपूर्ण तीन अंक हासिल गर्‍यो ।

नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले एक मात्र गोल गर्दै टिमलाई अग्रता दिलाइन् । उनले सविता रानाको क्रसलाई उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरिन् । पहिलो हाफभरि नेपालले केही थप अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रह्यो । डिफेन्सको सशक्त प्रदर्शनका कारण नेपालले अग्रता जोगाउन सफल भयो ।

नेपालले सन् २०१८ मा किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको थियो । यस पटकको खेल तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक देखिए पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्‍यो । चार टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 तुलनात्मक रूपमा म्यानमार र लेबननलाई बलियो टिम मानिएको छ । जसका कारण नेपाललाई फाइनल यात्रा सुनिश्चित गर्न आगामी खेलहरूमा थप उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ ।

नेपालका डिफेन्स र गोलकिपरले अन्तिम समयसम्म किर्गिस्तानलाई गोल गर्न नदिई उत्कृष्ट खेल प्रदर्शन गरे । विपक्षी टोलीले दोस्रो हाफमा केहि आक्रमण प्रदर्शन गरे पनि नेपालका खेलाडीहरूले सफल बचाउ गरे । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा म्यानमार र लेबनन आमनेसामने भएका थिए ।