‘प्रदेशले आफैं कानुन बनाउँदा संशोधन गर्नुपर्ने हुन्छ, संघको मौजुदा कानुन टेकेर अघि बढौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर हल्ला गरिरहन आवश्यक नरहेको बताएका छन् । आज (सोमबार) लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको १७ महिनासम्म आफू नै प्रधानमन्त्री रहने बताए ।
‘यो सरकार ढलिहाल्छ भन्ने हल्ला चल्या छ । यस्तो हल्ला नचले हुन्थ्यो । यसले युवामा निराशा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब १७ महिना पनि बाँकी छ कि छैन, शायद ७ महिना बितिसक्यो । अबको १७ महिना मैले चलाउँछु । आफैं छाड्छु बेला पुगेपछि, बल गर्नै पर्दैन । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । कुरा क्लियर छ ।’
उनले मुलुक अप्ठ्यारोमा परेपछि कांग्रेस–एमाले मिलेको दाबी गरेका छन् । ‘कांग्रेस र एमाले सबैभन्दा ठूला, एक्लै बहुमत ल्याएर देश चलाउँछौं भन्ने पार्टीहरू त्यसै मिल्न जाँदैनथे होला । किन मिल्नु पर्यो ? देशको अवस्था अप्ठ्यारो भयो । अर्थतन्त्र ओरालो लाग्यो । युवा विदेशिएको विदेशियै भए, रोक्ने कसरी ? दुनियाँ आईटीमा अगाडि बढिसक्यो, हामी अगाडि जान सकेनौं,’ दुई ठूला दल मिल्नुको कारण उल्लेख गर्दै ओलीले भने ।उनले थपे, ‘हामीले नमूनायोग्य बनाउनुछ यो देशलाई । हामीसँग सम्भावना छ । अब हामी विलम्ब गर्न सक्दैनौं । त्यसैकारण एमाले र कांग्रेस मिलेर सरकार बनाएका छौं ।
‘प्रदेशले आफैं कानुन बनाउँदा संशोधन गर्नुपर्ने हुन्छ, संघको मौजुदा कानुन टेकेर अघि बढौं’
प्रधानमन्त्री ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।
‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं । उलटफेर कानुन बनाउन सक्नु हुन्न। संघ सरकारले बनाएका मौजुदा कानुनमा टेकेर प्रदेशहरूले विकास गर्नुपर्ने बताए । प्रदेशले आफैं कानुन बनाउँदा धेरै कानुन संशोधन गर्नुपर्ने अवस्था आउने भन्दै संघीय सरकारले बनाएका मौजुदा कानुनमा टेकेर बनाउन आग्रह गरे ।
पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै उनले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए ।
संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गरे। साथै सिद्धबाबा सुरुङ मार्ग लगायतका योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। सिँचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हजार २ सय शैंयाको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गरे । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।
तर, केन्द्र सरकारले १ हजार शैंयाको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिए । ‘मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो । डेटा अन्त जान्छ, डेटामा बस्छ । प्रविधिको धेरै विकास भएको छ । ठीक सदुपयोग गर्न सक्नु पर्छ ।’