सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् । सांसद श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुखसँग समय मागेकी थिइन्। सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिएकी हुन् । प्रतिनिधिसभा बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ सांसद सुमना श्रेष्ठले आकस्मिक समय मागेकी थिइन् ।
बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । उनी चुपचाप बसिन् । सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिए । आकस्मिक समयमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलियाले आफ्ना कुरा राखे ।
आठ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने बताए । प्रतिपक्षी बेन्चमा रहेकी सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोजिन् ।
तर, सभामुख घिमिरेले समय दिएनन् । ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन । तपाईं आसन ग्रहण गर्नुस् ।’ सांसद् श्रेष्ठ भने आफ्ना कुरा राख्ने प्रयास गरिरहिन् । भारतमा नेपाली विद्यार्थीमाथि भएको दमनबारे आकस्मिक समयमा कुरा राख्नुपर्ने उनले बताएकी थिइन्
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । सुमनाले सोही विषयमा सरकारको ध्यानाकर्षण गराउन सभामुखसँग समय माग गरेको बताएकी छिन् ।