प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ। आज सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा सदनले सो प्रस्ताव स्वीकृत गरेको हो ।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए । तर गणपूरक संख्या नपुगेपछि निर्णयार्थ पेस हुन सकेन । सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन्।
तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए । सभामुख घिमिरेले अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने बताए । आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक संख्या पुगेको थिएन ।