Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

घाइते अर्थमन्त्री र मेयर भेट्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली पोखरामा भएको बेलुन विष्फोट घटनामा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न आज आइतबार कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन उडाउने क्रममा भएको विष्फोटमा परी अर्थमन्त्री पौडेल र मेयर आचार्य गम्भीर घाइते भएका थिए । दुवै जनालाई तत्कालै उपचारका लागि काठमाडौं ल्याइयो र अहिले बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।


घटनापछि सरकारको तर्फबाट तत्कालै छानबिन प्रक्रिया अघि बढाइएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

PM_OFC_WhatsAppImage2025-02-16at6.29.34PM.jpg

छानबिन समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनी प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री र एक जना विष्फोटक पदार्थ विज्ञ सदस्यको रूपमा रहेका छन् ।

छानबिन समिति गठन भएसँगै गृहमन्त्री लेखकले पनि बर्न अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अहिले प्रधानमन्त्री ओलीले समेत अस्पताल पुगेर उपचारको अवस्थाबारे जानकारी लिएको र सरकारको तर्फबाट आवश्यक सबै सहयोगको प्रतिबद्धता जनाएका छन् ।