Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अहिले कस्तो छ अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था?

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन्। उनीहरू पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा भएको दुर्घटनामा घाइते भएका हुन्।

समारोहमा रिमोटमार्फत दीप प्रज्वलन गरी बेलुन उडाउन खोज्दा आगोको ज्वालाले बेलुनमा टिपिएर पड्किँदा दुबै जना घाइते भएका थिए। घटनापछि प्राथमिक उपचारका लागि पोखरास्थित अस्पताल पुर्याइएका उनीहरूलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याइएको हो।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार पौडेलको हत्केला र अनुहारमा सामान्य रूपमा आगोले छोएको छ। यद्यपि उनको स्वास्थ्य अवस्था स्थिर तथा जोखिममुक्त रहेको जानकारी उनले दिएका छन्।

बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार दुबै जना अस्पतालमा भर्ना भइसकेका छन् र उनीहरूको उपचार सुचारु छ। चिकित्सकहरूको निगरानीमा रहेका उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ।