Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रहरी कुटेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति दिएको छ।

ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएकोमा प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो।

जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो।

प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही फरार छन्।