Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मेयर बालेनले आफ्नो व्यवहार नसुधारे लोसपा आन्दोलनमा उत्रिन बाध्य हुन्छ

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताएका छन् । सदरमुकाम जलेश्वरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताए ।

अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौँ महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाए । उनले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले अदालतको आदेशको विरुद्ध काठमाडौंका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउनेलगायत कार्य गरेर आतंक मचाएको आरोप लगाए ।


उनले काठमाडौँ महानगर र प्रमुख बालेन शाहद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराए । अध्यक्ष ठाकुरले काठमाडौँ महानगर प्रमुख शाहले आफ्नो व्यवहार नसुधारेमा लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।