Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला च्याम्पियनसिप खेल्न आइपुगिन् एञ्जिला

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् । पछिल्लो समय ग्रीसमा व्यवसायिक फुटबल खेल्दै आएकी एञ्जिना राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न आज बुधबार नेपाल आईपुगेकी हुन् ।

एञ्जिला घरेलु मैदानमा हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न नेपाल आएकी हुन् । उनी एयर अरेबियाको फ्लाइटमार्फत आज दिउँसो १ बजे काठमाडौं अवतरण गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी एञ्जिला युरोपमा खेल्ने दोश्रो नेपाली खेलाडी हुन् । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आगामी फागुन ५ गतेदेखि १३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ ।

नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपाल किर्गिस्तानबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ । यसैगरी नेपालले दोश्रो खेल फागुन ८ गते लेबना र तेश्रो खेल ११ गते म्यानमारसँग खेल्ने छ। फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न लागेको हो।प्रतियोगिताका लागि हाल ३० सदस्यीय नेपाली टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।