Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

संसदमा गोकुल बास्कोटाले भने– जनताले भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्नु भनेका छन्

सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चार वटा प्रधानमन्त्री बन्दा पनि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि पोखेका छन् ।

प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा सडक नबनेको भन्दै उनले भौतिक मन्त्रीको ध्यानाकर्षण गराए । उनले अब पनि सडक नबने ढुंगा खाने स्थिति बनेको समेत जानकारी गराए । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बास्कोटाले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको कानमा बतास् पसोस् भन्ने जनताको माग आफूले सदनमार्फत सुनाएको बताएका छन् । नत्र अब ढुंगा खान तयार हुनुपर्ने चेतावनी समेत उनले दिए ।


बास्कोटाले भने, ‘खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर सडक ४ पटक प्रधानमन्त्री र ४ पटक मन्त्री फेरिँदा पनि बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस्, त्यहाँका जनताले यहि कुरा भन्न भनेका छन् । नभए ढुंगा खाने स्थिति बन्यो । बास्कोटाले काठमाडौंको तरकारी बजारमा १७ प्रतिशत योगदान गरेको काभ्रेका किसानले ३ रुपैयामा काउली बेच्नु परेको भन्दै पकेट क्षेत्रमा ५ वटा कोल्ड स्टोर स्थापना गर्न कृषि मन्त्रीको ध्यानकर्षण समेत गराए । बनेपा, धुलिखेल, पाँचखाल, मण्डन र बेथानचोकका किसानको समस्या सुनाउँदै ५ ठाउँमा कोल्डस्टोर राखेर किसानको लगानी जोगाउनु पर्ने बताएका छन् ।