प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको कुरा उठाएपछि रास्वपाले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले रविले प्रहरी प्रमुखलाई समितिको बैठकमा बोलाएर सहकारी प्रकरणमा निर्दोष भन्न लगाएको आरोप लगाए । सांसद खतिवडाको आरोपछि रास्वपा सांसदहरुले अवरोध गरेका छन् ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनु पर्ने बताए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् । यद्यपि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे । उनीहरूले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।