Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नेसपाले नेतृत्व चुन्दैः अध्यक्षमा बाबुरामलाई नेत्रको चुनौती, अरु को–को छन् प्रतिष्पर्धामा?

नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको निर्वाचन आयोग प्रमुख रामकुमार पुरीले जानकारी दिए । ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ ।

उनका अनुसार उम्मेदवारको दाबी विरोधका लागि बिहान साढे ९ बजेसम्मको समय दिइएको छ । अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो तीन बजेदेखि मतदान सुरु गर्ने तयारी छ। आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने भनिए पनि राति अबेरसम्म मनोनयन दर्ताको कार्यक्रम भएकाले समय संशोधन गरिएको हो ।

त्यसपछि ११ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने पुरीले बताए । उम्मेदवारको अन्तिम नामावली अनुसार मतपत्र छाप्नुपर्ने भएकाले दिउँसो ३ बजेबाट मतदान गराउने तयारी रहेको आयोगले जनाएको छ । देशभरका १ हजार ३ सय २० जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मताधिकार प्रयोग गर्नेछन् । धेरैजसो पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत हुने अवस्था देखिएको उनले बताए । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईको उम्मेदवारी दर्ता भएको छ ।

पार्टीका संस्थापक सदस्य चापागाईं अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की–२७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् । महाधिवेशनको उद्घाटन सत्रपछि आयोजित सचिवालय बैठकमा भट्टराई आफैंले नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्ने र आफू वैचारिक नेताको भूमिकामा बस्ने प्रस्ताव गरेका थिए । तर उनलाई अध्यक्ष नै रहन पार्टीका नेताहरुले सुझाव दिने गरेका छन् । त्यसैले भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिएको एक नेताले बताए ।

दलित उपाध्यक्षमा दूर्गा सोब र महिला उपाध्यक्षमा मानुषी यमी भट्टराइको एकल उम्मेदवारी परेको पुरीले बताए । महासचिवमा ३ र सचिवमा ७ जनाको उम्मेदवारी परेको छ । महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपाको मनोनयन दर्ता भएको छ । कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।