'ओलीले वर्तमान संविधान र संसद् विघटन खारेज गर्न खोज्दैछन्'
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सत्ताको लोभमा जनता समाजवादी पार्टी नेपाल अध्यादेशको पक्षमा नजाने दावी गरेका छन् । आज सोमबार जनकपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले जसपा नेपाल अध्यादेशको पक्षमा नजाने र रोकिएका अध्यादेश पारित नहुने दावी गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले प्रधानमन्त्री ओली संविधान खारेज भएर परिवर्तनको उपलब्धि बर्बाद होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
‘उहाँ (ओली) ले त आन्दोलनबाट प्राप्त परिवर्तनका सबै उपलब्धि बर्बाद होस्, संविधान नै खारेज होस् भन्ने चाहनु भएको छ’, दाहालले भने । ओलीले अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी रहेको उनले जिकिर गरे ।
वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने उनले ठोकुवा गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डले जिकिर गरे । ‘सदन सुरू भएको छ । तर, अध्यादेश सदनमा प्रस्तुत भएका छन् तर, रोकिएका छन् । विधि प्रक्रियासम्बन्धी विषयमा उहाँहरू अडिनु भएको छ । आफ्नो मुद्दालाई छोडेर सरकारका लागि जानुहुन्छ जस्तो लाग्दैन,’ उनले भने,’ यदि उहाँहरूले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारले गलत मनसायले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘सरकारले गलत नियतिले अध्यादेश ल्याएको छ । भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ यसको उद्देश्य गलत देखिएको छ । यो विषयमा मैले सदनमा प्रष्ट भनिसकेको छु ।’
प्रचण्डले अहिलेको सरकार सुशासन र भ्रष्टाचारका विरुद्धको अभियान रोक्न बनेको आरोप लगाए । ‘यो सरकार जनताको पक्ष र सुशासनको पक्षमा काम गर्न बनेको हुँदै होइन । सुशासन र भ्रष्टाचारका विरुद्ध चलेको अभियान रोक्न बनेको सरकारको हो । यसबाट राम्रो हुने आशा पनि छैन । यो सरकार असंवैधानिक छ ।’