Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रचण्डलाई विश्वप्रकाशको प्रश्नः एमालेसँग कांग्रेस मिल्दा अप्राकृतिक, माओवादीसँग मिल्दा प्राकृतिक थियो?

 सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले सरकारलाई अप्राकृतिक भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आवेगात्मक भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन्।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री शर्माले संविधानको सोही धारा र प्रक्रियाअनुसार बनेको सरकारलाई असंवैधानिक र अप्राकृतिक भन्नु गैरजिम्मेवार भएको बताएका हुन् । ‘माघ २४ गते प्रतिपक्षी दलका नेता प्रचण्डले वर्तमान सरकार संवैधानिक र प्राकृतिक पनि नभएको भन्नुभयो । उहाँलाई मेरो प्रश्न छ– कांग्रेस र माओवादी मिल्दा कसरी प्राकृतिक थियो, कांग्रेस र एमाले मिल्दा कसरी अप्राकृतिक भयो ?,’ उनले प्रश्न गरे । एमालेसँग मिल्नु समय र परिस्थितिको बाध्यता रहेको उनले बताएका छन् ।


‘कांग्रेस–एमाले मिलेर सरकार बन्नु समयको बाध्यता, गणितीय बाध्यता, परिस्थितिको बाध्यता हो । यो प्राकृतिक भनेर हामीले दाबी गरेका छैनौं । तर, संविधानको त्यही धाराबाट माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक हुने एमाले अध्यक्ष प्रधानमन्त्री बन्दा कसरी अप्राकृतिक ?,’ उनले प्रश्न गरे । शर्माले आवेगात्मक प्रस्तुतीले जनताप्रति विश्वास घटेको हो कि भन्ने तर्क गरेका छन् ।

‘हाम्रो शैलीले नागरिक पंक्तिमा असर गर्‍यौं कि !’ उनले भने, ‘विधेयक टुंगोमा नपुग्दा कसैलाई दोष दिएर उम्किने स्थान छैन ।’ संसद्को आस्था र नेतृत्वप्रति भरोशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । देशप्रति विश्वास जगाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले अड्किएका विधेयक परिमार्जनसहित पारित गर्न र विकास निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिए ।