सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सामाजिक सञ्जाल नियमन विधेयक साइबर अपराध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न ल्याएको स्पष्ट पारेका छन्।
आज आइतबार फेसबुकमा लेख्दै महासचिव पोखरेलले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नखोजेको र संविधानले पनि त्यसको अनुमति नदिने स्पष्ट पारेका हुन् । उनले विधेयक मूलतः सामाजिक सञ्जाल प्लेटफर्मको दर्ता र दुरुपयोग नियन्त्रणसँग सम्बन्धित रहेको बताए ।
‘साइबर क्राइम इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी गरिने विश्वव्यापी रूपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो ।’ महासचिव पोखरेलले भने । नेपालको कानून यस मामिलामा कमजोर भएका कारण यस्ता अपराध बढेको तथ्यलाई बेवास्ता गर्न नसकिने पनि महासचिव पोखरेलले बताए ।
महासचिव पोखरेलले विधेयकमा केही अस्पष्टता भए संसदले सुधार गर्न सक्ने तर विगतमा आफैले मस्यौदा गर्न लगाएका दलहरूले नै विरोध गर्नु अनैतिक कार्य भएको पनि बताए । महासचिव पोखरेलले अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय भएको र हुनुपर्ने पनि बताए ।
महासचिव पोखरेलको भनाइ जस्ताको तस्तै
यतिवेलाको चासो र चिन्ता
विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साईवर अपराध रोक्नका लागि । विरोध सुरुभएको छ प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा । सरकारले न प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ । नत त्यसो गर्न संविधानले अनुमति नै दिन्छ। न संसदले नै त्यो काम गर्नेछ ।
सोसल मिडियाको नियमन आवश्यक छ। विधेयक त्यसका लागि नै दर्ता गरिएको छ । मुलतः त्यो प्लेट फर्मको दर्ताको आवश्यकता र दुरुपयोग तथा त्यसमार्फत हुने अपराध नियन्त्रण गर्ने कुरासंग सम्वन्धित छ । साईवर क्राइम इन्टरनेट र सामाजिक संजालको प्रयोगरी गरिने विश्वव्यापी रुपमा स्विकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो ।
नेपालको कानून त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध वढेको तथ्यप्रति कसैले पनि आखा चिम्लन मिल्दैन ।विधेयकमा केही अस्पष्टता छन् र सुधार गर्नुपर्ने देखिए संसदले सुधार गर्न सक्दछ । संसदीय प्रक्रियाको विशेषता नै त्यही हो। तर विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै यसको विरोध गर्नु अनैतिक कार्य हो । यस्ता कुरा प्रति नागरिकहरु सचेत हुनु पर्दछ । अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनु पर्दछ ।