नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेको सरकार स्थिर सरकार रहेको बताएकी छिन् । शनिबार कैलाली जिल्लामा कांग्रेसको थारु विभाग र थारु संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. राणाले कांग्रेस अहिले सत्तामा आएको बताइन् । उनले समयले काँचुली फेरेको बताइन् । उनले भनिन्, ‘समयले काँचुली फेरेको छ । कांग्रेस सरकारमा आएको छ । यो सरकार स्थिर सरकार हो । यो सरकारले गर्नुपर्ने काम गर्नेछ ।’
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु सङ्घले आज कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन कार्यक्रममा उनले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधारका लागि सरकारले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मूलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाले बताइन् । दुई ठूला दल मिलेर गठन भएको अहिलेको सरकारले मुलुकको समग्र विकासका लागि योजना तयार गरेर अघि बढ्दै गएको उनले बताइन् । परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन् ।
उनले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताइन् । उनले थारु समुदायलाई राज्यका विभिन्न निकायमा पहुँच बढाउन सरकारले योजना पहल गर्दै गइरहेको उल्लेख गरिन् । नेपाली कांग्रसकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री राणले थारु समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले कांग्रेसले थारु विभाग गठन गरेको जानकारी दिइन् ।
मन्त्री राणाले उत्तेजनाको राजनीतिले कसैको पनि जीवन परिवर्तन र हित नहुने बताएकी छन् । उनले भनिन्, ‘राजनीतिले हरेक मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ । उत्तेजना बनाउने कुराले मात्रै परिवर्तन गराउन सक्दैन। कांग्रेसले ल्याउने नीतिले मानिसको जीवनमा परिवर्तन ल्याउने हो ।’ उनले रेशम चौधरीलाई रिहा गराउन कांग्रेसको पनि भूमिका रहेको बताइन् । ‘रेशम चौधरीलाई छुटाउन हामीले पनि पहल गरेका हौँ । उहाँ कैलालीबासी हो । हाम्रो दाजुभाइ हो । सुदूरपश्चिमबासी हामी एउटै छौँ’, डा। राणाले भनिन् । परराष्ट्रमन्त्री डा। राणाले थारु समुदाय कांग्रेससँग छन् भन्ने कुराको सन्देश कार्यक्रममा रहेको उपस्थितिले देखाएको बताएकी छिन् ।