नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेरास्ववियू (क्रान्तिकारी) को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथ तथा पदभार ग्रहण कार्यक्रममा उनले यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुङ्ग्यायो भन्ने शक्तिशाली सन्देश प्रवाहित भएको बताए ।
‘उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुङ्गो लगाउनु पर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुङ्गो लगाउनु महत्वपूर्ण अभ्यास हो’, अध्यक्ष दाहालले भने, ‘अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।’
आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन र एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे । अध्यक्ष दाहालले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि स्ववियू निर्वाचन महत्वपूर्ण चुनौतीको रूपमा आएको समेत बताए ।
उनले भने, ‘कम्तीमा स्ववियु निर्वाचनसम्म यहाँभित्र अर्को लफडा नहोस् भन्ने कुरामा सबै सर्तक रहनुहोला । गर्नुपर्ने हो भने पनि स्ववियु निर्वाचनपछि गरौंला । निर्वाचनअघि नै सुरु भयो भने परिणाम सोचे जस्तो नआउँला भन्ने डर छ । त्यसैले त्यही निर्वाचनमा फोकस हुनुस् । पार्टीले सबै सहयोग गर्छ । अहिले को–कोले कहाँ–कहाँ गरियो, त्यसको हिसाब अहिले गर्नु पर्दैन ।’
त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नव निर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गरिन् । यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।