सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गरिने बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद भएको बताएका छन् ।
‘सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद हो । यो संसद्ले सही ढंगले फिडब्याक दिने कर्म गर्यो भने, यो बाहिर रहेको संसदमा सही प्रश्नमा सही ढंगले खबरदारी गर्यो भने भित्र रहेको संसदले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ,’ उनले भने ।
महामन्त्री शर्माले शासन प्रणाली बदलिएको भए पनि शासनको शैली अझै बदल्न नसकेको टिप्पणी गरेका छन् । उनले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको बताए । उनले प्रतिनिधि चुनिएका व्यक्तिहरूले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताए ।