Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

बिरामीको उपचारमा लापरबाही गरेको भन्दै जनकपुरधामस्थित मुस्कान अस्पताललाई तत्काल बन्द गरी साँचो बुझाउन मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

अस्पतालमा सर्लाहीको हरिपूर्वा नगरपालिका–५ की २५ वर्षीया बविता यादवको पित्तथैलीको शल्यक्रिया गरिएको थियो। तर उनको होश अहिलेसम्म खुल्न नसकेको घटना बाहिरिएपछि मुख्यमन्त्री सिंह अस्पताल पुगेका थिए । उनी शुक्रबार दिउँसो अस्पताल पुग्दा सञ्चालक भेटेका थिएनन् । त्यसपछि मध्यरातमा पुनः अस्पताल पुगेर मुख्यमन्त्री सिंहले शनिवार विहान ११ बजेभित्र अस्पतालमा ताला लगाएर साँचो बुझाउन निर्देशन दिए ।


मुख्यमन्त्री सिंह पुग्दा अस्पतालमा मात्र तीन विरामी थिए । पित्तथैलीको शल्यक्रिया गराएकी महिला यादवको होश नखुलेकाले उनलाई तत्काल बाहिर पठाउन पनि मुख्यमन्त्रीले निर्देशन दिए । मुख्यमन्त्रीको निर्देशनपछि अस्पताल प्रशासनले ती महिला बिरामीलाई जानकी हेल्थ केयरमा पठाएको बुझिएको छ । शल्यक्रियामा लापरबाही गरेको विषयमा छानविन गर्ने र दोषी ठहर भए कानून बमोजिम कारबाही हुने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका छन् ।

उक्त अस्पताल कुनै निकायमा दर्ता छैन । स्वास्थ्य सम्बन्धी सहायक सेवाहरु सञ्चालन गर्न पाउने भनेर कम्पनी रजिस्टारको कार्यालयमा मात्र दर्ता छ । अस्पतालले एमविविएस डाक्टर समेत नराखेको पाइएको छ । कार्यरत एचए र अहेबसहितका कर्मचारीलाई नियुक्ति पत्र पनि दिएका छैनन् ।