राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सहकारीपीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन् । आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले राज्यले प्रतिशोध साँधेर रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा राखेर जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ? भन्दै प्रश्न गरेकी हुन् ।
‘सहकारी समस्या समाधान भयो त ? म सरकारलाई प्रश्न सोध्न चाहन्छु– बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो ?’, उनले प्रश्न गरिन् ।
कठायतले सरकारले पीडितलाई न्याय दिनेभन्दा पनि रवि लामिछानेलाई प्रतिशोध साँध्ने हिसाबले बयानका नाममा जिल्ला–जिल्ला घुमाइएको आरोप लगाइन् । ‘के यसैगरी जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ?,’ उनले थप प्रश्न गर्दै भनिन्, ‘हुन्छ भनिदियोस् सरकारले । हाम्रो सभापति दुई तिन जिल्ला मात्र होइन ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ । हामी डराउँदैनौं।’