Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविमाथि सरकारले प्रतिशोध साँध्योः सांसद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा बोल्दै रास्वपाको कार्यबाहक सभापति एवं सांसद डोलप्रसाद अर्यालले उक्त माग गरेका हुन् ।

उनले भने, ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभापतिमार्फत अनुरोध गर्दछु ।’ उनले सभापति लामिछानेमाथि राजनीतिक दलहरूले प्रतिशोध साँध्न खोजेको आरोप लगाए ।


‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ’ उनले भने । लामिछाने संसदको चौथो ठूलो दल रास्वपाको सभापति रहेको ख्याल गर्न उनको आग्रह छ । ‘....एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिसोधको मुल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ,’ अर्यालको चेतावनी छ ।

सहकारी ठगी प्रकरणमा गत कात्र्तिक २ गते पक्राउ परेका लामिछाने हाल धरौटी बुझाएर रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौंमा ६० लाख, कास्कीमा ६५ लाख, रुपन्देहीमा १ करोड र चितवनमा ५४ लाख धरौटी बुझाएर उनी रिहा भएका छन् । उनीमाथि विभिन्न जिल्लामा सहकारी ठगी, संगठित अपराध,सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा दायर भएको छ ।