Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विपिनको रिहाइबारे इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् ।

सो क्रममा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए ।

इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले कब्जामुक्त गरिरहेको छ । हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्दै आएको छ । यसक्रममा मन्त्री राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी त्यसबारे अपिल गरेकी थिइन् ।


इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । तर हालसम्मको सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन । मन्त्री डा. राणाले इजरायल, इजिप्ट, कतारलगायतका विदेशमन्त्री तथा प्रतिनिधिसँग यसै विषयमा फोनवार्ता गरेकी थिइन् ।