Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेको धरौटी दुई करोड ७९ लाख पुग्यो, कहाँ कति बुझाए?

पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ ।

कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहारा गरी चारवटा सहकारीको रकम अपचलनसम्बन्धी सम्बन्धित जिल्लाका अदालतहरूले तोकेको धरौटी दुई करोड ७९ लाख पुगेको हो । लामिछानेलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख, रुपन्देहीमा एक करोड र चितवनमा ५४ लाख धरौटी मागिएको छ ।


जिल्ला अदालत, चितवनले लामिछानेलाई बिहीबार (आज) मात्रै ५४ लाख धरौटीमा छाडेको छ । अझै पर्साको सानो पाइला सहकारीको प्रक्रिया बाँकी नै छ । लामिछानेले उपप्रधान एवम् गृहमन्त्री हुँदा एक लाख १० हजार र भक्तपुरमा एक रोपनी एक आना जग्गा सम्पत्ति देखाएका थिए ।

रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत चितवनले ५४ लाख धरौटी मागेको हो । उनी सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् । चितवनमा पनि प्रभू बैंकले रविका लागि जमानत दिएको हो । यसअघि तीन वटै अदालतमा सोही बैंकले जमानत उपलब्ध गराएको थियो । यता रवि छुट्दै गर्दा उनका समर्थकहरुले प्रदर्शन र नारावाजी गरिरहेका छन् ।

चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनले चितवन २ बाट सर्वाधिक मत ल्याएर दुई पटक चुनाव जितेका थिए । अहिले उनको समर्थनमा मतदाताहरु बाक्लो संख्यामा सडकमा निस्किएका छन् । प्रदर्शनमा सहभागी केही मतदाताहरुले आफ्नो घर जग्गाको लालपुर्जा समेत बोकेर आएको त्यहाँ उपस्थित रास्वपा नेता प्रमोद न्यौपानेले बताएका छन् ।