राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।
उनले 'कन्टेन्ट क्रियसन' र 'पर्सनल ब्रान्डिङ'बारे नबुझेरै विधेयक ल्याइएको टिप्पणी गरिन् । “युवालाई बोलाउनुस्, युवासँग संवाद गर्नुस्, जनताको आवाज सुन्नुस्,” सुमनाले भनिन्, “पेलेरै गोलमटोलरूपमा कसरी विधेयक पास हुन्छ, हामीले देखेकै छौँ । कसरी दुईतिहाइको दम्भ प्रयोग हुन्छ, कसरी मेजोरिटी (बहुमत)को दम्भ प्रयोग हुन्छ, त्यो पनि हामीले देखेकै छौँ ।”
उनले दम्भ छाडेर 'कन्टेन्ट क्रियटर'हरूलाई बोलाएर सोध्न पनि आग्रह गरिन् । “कन्टेन्ट क्रियटरहरूलाई बोलाउनुस्, छलफल गर्नुस् र सोध्नुस्– कन्टेन्ट क्रियसन भनेको के हो ? कसरी सोसल मिडियामा आफ्नो पर्सनल आइडेन्टिटी बनाइन्छ ? कसरी पर्सनल ब्रान्डिङ गरिन्छ ?,” सुमनाले भनिन्, “यति सिम्पल कुरा पनि नबुझेर यो विधेयक ल्याइएको छ ।”
उनले विधेयकविरुद्ध समाजिक सञ्जालमा चलेको 'ह्यासट्याग अभियान'का विषयमा जानकारी दिँदै विधेयक पुनर्विचारका लागि दिएको दबाबको सुनुवाइ पनि संसद्ले गर्नुपर्ने बताइन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समया सांसद श्रेष्ठले विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको 'बोल्न दे सरकार' अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन् ।
“यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्नुस्, युवाहरूको आवाज सबैले बोक्नैपर्छ, सुन्नैपर्छ,” उनले भनिन् । सरोकारवालासँग छलफल नगरेरै विधेयक ल्याइएको उनको भनाइ छ ।