साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।
चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ । तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।
चितवन सरकारी वकिल कार्यालयबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बुधबार बहस गरिसकेका छन् । बुधबार नै जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए । बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालत गर्ने तालिका रहेको छ ।
यस्तै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ता डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपिलाल देवकोटा, केदारराज पन्त, दीपकराज तिमिल्सेना र सञ्जय गोले गरी १० जनाले बहसका लागि वकालतनामा दर्ता गरेका छन् ।
बुधबार बहस नसकिए पछि लामिछानेलाई न्यायिक हिरासतका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक ६ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।