Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषयः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उनले सो धारणा व्यक्त गरेका हुन् ।

‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय  मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ ।’ राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।  

यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा आयोजना हुन गईरहेको उनले जानकारी दिए ।  साथै उनले महारानी एलिजाबेथ द्वितीय र  राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।

उनले भने,‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पु¥याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु ।’ साथै सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरे ।

Photo1.jpeg

सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझन पाउने पनि बताए ।

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भईरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने पनि बताए । उनले ब्रिटीस सेनामा नेपालले भर्तिको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटीस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे ।

सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको “गोर्खा–ब्रिगेडका” प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले “ब्रिगेड अफ गोर्खा” को सन् २०२४ को वार्षिक प्रतिवेदन पेश गरे । 
राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै  “ब्रिटिस–गोर्खा” हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए । “ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्‍याएको छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको “द्विपक्षीय संयन्त्र” मा सकारात्मक छलफल भइरहेकै छ भन्ने विश्वास पनि राष्ट्रपति पौडेलले सो अवसरमा व्यक्त गरे ।